दफा ३१
दर्ताको प्रमाणपत्र नवीकरण
(१) दफा १६ को उपदफा (४) बमोजिम दर्ताको प्रमाणपत्रमा लेखिएको म्याद नाघेको तीन महीनाभित्र दर्ताको प्रमाणपत्र नवीकरण गराई सक्नु पर्छ ।
(२) सवारी धनी वा निजले खटाएको व्यक्तिले उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गराउनको लागि तोकिएको दस्तुर संलग्न राखी दर्ताको प्रमाणपत्र अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्नु पर्छ ।
तर कूटनीतिक सुविधा प्राप्त सवारीको दर्ताको प्रमाणपत्र नवीकरण गर्न कुनै दस्तुर लाग्ने छैन ।
(३) उपदफा (२) बमोजिम नवीकरणको लागि दर्ताको प्रमाणपत्र पेश हुन आएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो दर्ताको प्रमाणपत्र अर्काे एक वर्षको लागि नवीकरण गर्नु पर्छ ।
(४) उपदफा (१) बमोजिमको म्याद नाघी दर्ताको प्रमाणपत्र नवीकरण गराउन आउने सवारी धनीबाट नवीकरण दस्तुरको अतिरिक्त सो म्याद नाघेको एक वर्षसम्म एकसय प्रतिशत, दुई वर्षसम्म दुईसय प्रतिशत, तीन वर्षसम्म तीनसय प्रतिशत, चार वर्षसम्म चारसय प्रतिशत र पाँच वर्षसम्म पाँचसय प्रतिशत दस्तुर समेत लिई त्यस्तो दर्ताको प्रमाणपत्र नवीकरण गर्नु पर्छ ।